नेपालगन्ज – आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि बाँके निर्वाचन क्षेत्र २ अन्तर्गतको प्रदेश २ ख को माओवादी केन्द्रको निर्वाचन परिचालन समिति यतिखेर जोडतोडका साथ निर्वाचन अभियानमा दौडिएको अवस्थामा आज नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।
निर्वाचन प्रचार प्रसार अभियान अन्तर्गत सोमबार बेलुका वडा नम्बर १२ को सम्पर्क कार्यालय उद्घाटन गरिएको निर्वाचन क्षेत्र २ (ख) का निर्वाचन परिचालन समितिका संयोजक नवीन शर्माले जानकारी दिए । उनले यो प्रदेश निर्वाचन क्षेत्रका जनताले माओवादी उम्मेदवारलाई जिताउनका लागि प्रतिबद्ध भएको पाएको बताए ।

सम्पर्क कार्यालयको उद्घाटन निर्वाचन क्षेत्र २ (ख) बाट माओवादी केन्द्रका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फका उम्मेदवार अकल बहादुर बमले गरेका थिए ।
कार्यालय उद्घाटन कार्यक्रममा सोही क्षेत्रबाट प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फका उम्मेदवार काली मियाँ (कस्मिरा), नेकपा माओवादी केन्द्र बाँके जिल्ला सचिव डिल्ली बराल, माओवादी नेपालगन्जका अध्यक्ष रतन शाही, लुम्बिनी प्रदेश सदस्य मिना चदरा, नगर सदस्यहरु मन्दिरा पाण्डे, मिना मल्ल, मिना डाँगी, धर्मराज न्यौपाने लगायत सयौंको संख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको निर्वाचन परिचालन समितिका संयोजक शर्माले जानकारी दिए ।
निर्वाचन मिति नजिकिएसङ्गै माओवादी केन्द्रका उम्मेदवार तथा नेताहरु जनताको घरदैलोमा आफ्ना एजेन्डा तथा कार्यक्रम लिएर दैनिक पुगिरहेका छन ।
