ऐनमै खेलाडीको पुरस्कार सुनिश्चित गरेका छौं : मन्त्री अथक

स्वास्थ्य/ खेलकुद


युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशी सुनिश्चित गरीएको बताएका छन । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेसँगै खेलकुद नियमावलीमै गाभेर पुरस्कार कार्यविधि लागु गर्न लागेको मन्त्री अथकले बताएका हुन ।

राष्ट्रिय तेक्वान्दो संघले शुक्रबारदेखी बाँकेको कोहलपुरमा संचालन गरेको दुई दिने प्रशिक्षक अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अथकले पुरस्कार कार्यविधि मार्फत सरकारले खेलाडीहरुको पुरस्कार तथा सम्मान रकम सुनिश्चित गरेको बताए । राष्ट्रको लागि आफ्नो जिवनको उर्जावान समय खर्च गर्ने खेलाडीहरुलाई राज्यले उचित सम्मान दिन नसकेको महशुस गरेर नै पुरस्कार कार्यविधि लागु गर्न लागिएको बताउँदै मन्त्री अथकले खेलाडीहरुलाई थप हौसला तथा प्रोत्साहनको खाँचो रहेको उल्लेख गरे ।

“हामीले ऐन मार्फत खेलाडीहरुको पुरस्कार राशी सुनिश्चित गरेका छौं” मन्त्री अथकले भने, “अब ओलम्पिकमा स्वर्ण पदक जित्ने खेलाडीले पुरस्कार स्वरुप १ करोड ३० लाख रकम प्राप्त गर्नेछन । यसले खेलाडीको बृत्ति बिकासका साथै राष्ट्रको पहिचान स्थापित गर्नमा समेत ठुलो मद्धत मिल्नेछ ।”

उनले एसियाली खेलकुद, साग र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदका बिभिन्न प्रतिस्पर्धामा पदक बिजेता तथा किर्तिमान बनाउन सफल खेलाडीहरुलाई विधागत रुपमा पुरस्कारको ब्यवस्था गरीएको बताए । नेपाली खेलाडीहरु हरेक किसिमका खेल खेल्न सक्षम भएपनि उनिहरुलाई हौसलाको कमी रहेको उल्लेख गर्दै मन्त्री अथकले भने, “नेपाली खेलाडीहरु आफैमा साहसी र सक्षम छन, उनिहरुको हौसला बढाउन जरुरी छ ।”

मन्त्री अथकले पोखरामा हुन गईरहेको नवौं राष्ट्रिय खेलकुदमा केन्द्रित हुन खेलाडीहरुलाई आग्रह समेत गरेका छन । 

नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरि तेक्वान्दो प्रशिक्षकहरुलाई अन्तर्राष्ट्रिय नियममा भएका परिवर्तनका बारेमा जानकारी दिने उद्धेश्यले प्रशिक्षक अभिमुखिकरण कार्यक्रम संचालन गरीएको कार्यक्रमका सभापती तथा राष्ट्रिय तेक्वान्दो संघका केन्द्रिय सदस्य बुद्धी थापाले जानकारी दिए । कार्यक्रममा तेक्वान्दोका राष्ट्रिय देखि प्रदेश स्तरीय रेफ्री तथा प्रशिक्षकहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *