नेपालगन्ज : पछिल्लो समयमा साहित्यीक क्षेत्रमा सक्रिय रहेकी साहित्यकार तथा उपन्यासकार अन्जु न्यौपानेको दोस्रो कृति “लुकेको बासना” आज विमोचन भएको छ ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा कोहलपुरमा रहेको स्वस्तिक पार्टी प्यालेसमा भएको कार्यक्रममा न्यौपानेको पुस्तक ‘लुकेको वासना’ विमोचन गरिएको हो । प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानको अध्यक्षतमा भएको कार्यक्रममा वरिष्ट साहित्यकार सनत रेग्मी प्रमुख आथिती रहेका थिए । प्रमुख अतिथि रेग्मी तथा अन्य अतिथिहरुले समग्र रुपमा कार्यक्रमको उद्घाटन गर्दै न्यौपानेको पुस्तक लुकेको वासना विमोचन गरेका थिए ।

प्रमुख अतिथी रेग्मीले समसामायिकता र मन भित्र कुण्ठित पारेर राखेका कुराहरु तथा महिलाहरुको मनोविज्ञानमा आधारित उक्त उपन्यासले धेरैको मन जित्नेमा विश्वस्त रहेको बताएका छन् ।
रेग्मीले यो उपन्यासले जीवनका अप्ठ्यारा बाटा र सम्बन्धका अनपेक्षित मोडलाई सादृश्य गराउँदै आशा र निराशाजन्य अभिव्यक्ति एकसाथ मुखरित भएको बताए । महिलाहरुको जीवन पद्धतिको रोचक वर्णनले पुस्तकले जीवन्त बनेको मात्र छैन पाठकलाई नयाँ ज्ञान समेत पस्किएको उनको तर्क थियो ।
कार्यक्रममा बोल्दै व्यवसायिक महिला संगीता सुवेदीले यौन सम्बन्धलाई नबुझेर समाजमा हिंसाका घटना बढ्दै गईरहेको बताईन् । यस्तै यौन साथीबीचमा कुरा नमिल्दा दरार पैदा हुने र मानसिक तनाव, कुण्ठा चिन्ता उत्पन्न हुने कुरा आफ्नो उपन्यासमा समावेश गरेको लेखक न्यौपानेले बताईन् ।
यौन चाहना तथा सन्तुष्टि पूरा नभएको खण्डमा धेरै महिलाहरु मानसिक रोगको सिकार हुने गरेका धेरै घटना देखिएको कुरालाई आफूले पुस्तक मार्फत वकालत गरेको उनको तर्क थियो ।यस्तै साहित्यकार, समालोचक ईश्वरी रिजालले लुकेको बासनाको समिक्षा गरेका थिए उनले समिक्षा सङ्गै लेखन शैलि राम्रो भएको र लेखन शैलिलाई अझै निखारता ल्याउन केहि शब्द सुधार गर्नु पर्ने समेत बताए।
कार्यक्रममा यहाँका साहित्यकार, साहित्य प्रेमीहरुको सहभागिता रहेको थियो । पत्रकार पोषण के.सी व्यवसायी संगीता सुवेदी, साहित्यकार सागर गैरे लगायतले मन्तव्य राख्दै न्यौपानेलाई आगामी दिनहरुमा पनि साहित्य लेखनमा अगाडि बढ्नका लागि शुभकामना दिएका थिए ।
