मानुषी लघुवित्तको आइपीओ आज देखि खुला

अर्थ / बाणिज्य

मानुषी लघुवित्तले आज बुधबार साउन २७ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजीको ३६% अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ खुला गरेको हो । मानुषीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ बिक्रीमा ल्याएको छ । जसमध्ये ०.५% अर्थात ५ हजार ४६९ कित्ता कर्मचारी र ५% अर्थात १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ ।

 बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यस आइपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । 

रेटिङ 

क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले मानुषीको आइपीओलाई ‘केयर एनपी बी प्लस’ रेटिङ दिएको छ । यसले निष्कासनकर्ता कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँछ । केयरले गत चैत ३ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ आगामी चैत ३ गतेसम्म कायम रहनेछ ।

कति कित्ताका लागि दिने आवेदन ? 

मानुषी लघुवित्तको आइपीओमा १० कित्ताका लागि आवेदन दिए पर्याप्त हुने देखिन्छ । पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्याका आधारमा १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिएको हो । हालै बिक्री बन्द भएको सानिमा लाइफ इन्सुरेन्सको आइपीओमा हालसम्मकै उच्च २४ लाख १९ हजार १२७ जना लगानीकर्ताले आवेदन दिएका छन् ।

तसर्थ, मानुषीको आइपीओमा पनि उच्च आवेदन पर्ने अनुमान गर्न सकिन्छ । यता, मानुषीले सर्वसाधारणका लागि ३ लाख ६८ हजार ५९३ कित्ता सेयर खुला गर्न लागेको हो । यसमा न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ३६ हजार ८५९ जनाले मात्र हात पार्नेछन् । मानुषीको आइपीओ पाउन निकै भाग्यमानी हुनुपर्ने अवस्था रहेको छ ।
नेपाली पैसाबाट
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *