नेपालगन्ज : कोरोना महामारीको भयावह स्थितिमा आफ्नो ज्यानको प्रवाह नगरी दिनरात बिरामीको सेवामा जुटेका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि गएराति भेरी अस्पताल नेपालगन्जमा दाङ घर भएका कोभिड संक्रमित बिरामी डिल्ली बहादुर रावतको मृत्युु भएको विषयलाई लिएर त्यहाँ कार्यरत रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि गरिएको अमानवीय व्यवहारको चौतर्फी विरोध गरि हदैसम्मको कारबाहीको माग गरिएको छ ।
राजनीतिक आडमा दादागिरी देखाएर गुण्डागर्दी शैलीमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई ज्यान मार्ने तरिकाबाट आक्रमण गर्न खोजेपछि शौचालयको कोठाको झ्याल फोरेर हाम फालेर ज्यान बचाएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

दाङ घर भएका बिरामी सिकिस्त भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएपछि सोही अनुसार गरिएको थियोे । तर बिरामी सिकिस्त भएको हुदा उपचारका क्रममा मृत्युु भएपछि मृतकका भाइ मान बहादुर रावतले केही व्यक्तिहरुलाई बोलाएर आक्रमण गरेका थिए । उनले प्रहरी कार्यालयबाटै उल्टै फेसबुकमा स्टाटस हालेर दाजुलाई बचाउन नसकेको र ती अपराधीहरुलाई हदैसम्मको कारबाही गरिने बताएका छन् ।
नेपाल चिकित्सक संघ बाँके, विभिन्न स्वास्थ्यकर्मी संघ/संगठन, ट्रेड युनियनहरु, राजनीति दल, तिनका भातृ संगठन सबैले विज्ञप्ति निकालेर दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।
भेरी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आज बिहानैदेखि आन्दोलनमा रहेका छन् ।


