सल्यान — सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दाङको तुलसीपुरबाट सल्यानको जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको यात्रुबाहक बस शनिबार दिउँसो ३ बजेतिर राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका-३ मुलपानीस्थित वनस्पति कार्यालय नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा तुल्सीपुर-६ का ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका-६ की ४० वर्षीया अनिता बोहरा छन् । दुवैको घटनास्थलमै मृत्यु भएको सल्यानका डीएसपी नवीन कार्कीले बताए ।
दुर्घटनामा घाइते भएकाहरुलाई स्थानीय तथा प्रहरीले उद्धार गरेर उपचारार्थ प्रादेशिक अस्पताल तुल्सीपुर पठाएका हुन् । बस सडकदेखि करिब ५० मिटर तल खसेको छ ।
