नेपालगञ्ज – नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल शिक्षक संघ बाँकेको नवौं अधिवेशनबाट अध्यक्षमा ऋषिराज शर्मा भारी मतान्तरले निर्वाचित भएका छन् । फागुन २७ गते भएको जिल्ला अधिबेशन पश्चात् सहमति जुट्न नसकेपछि नयाँ कार्यसमिति चयन गर्न आज भएको निर्वाचनबाट शर्मा ६७९ मतका साथ अध्यक्षमा निर्वाचित भएको निर्वाचन समिति सदस्य अधिवक्ता चित्रबहादुर शाहीले बताए ।
शर्माका निकटतम् प्रतिद्वन्दी शेषरबहादुर रावतले २८२ मत पाए । शर्मा यसअघि सचिव र रावत उपाध्यक्ष थिए । यस्तै सचिवमा चन्द्रबहादुर एरी निर्वाचित भएका छन् । उनले ५७६ मत पाउँदा उनका प्रतिद्वन्दी हरिप्रसाद अधिकारीले ३७६ मत पाएको शाहीले जानकारी दिए । सहसचिवमा रमेशकुमार विसी ४१६ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्दीहरु प्रदिपकुमार खत्रीले ३२३ र गोविन्दराज पौडेलले २१७ मत पाएका छन् ।

आज मंगल मा.वि. नेपालगन्जमा भएको मतदानमा ९९० जनाले मतदान गरेको शाहीले जानकारी दिएका छन् । जम्मा १२५७ जना संघका सदस्यहरु रहेका छन् । खसेको मत कुल मतको ७८.७५ प्रतिशत हो । सर्वसम्मतका लागि एक सातासम्मको प्रयास भएपनि त्यो विफल भएपछि आज तीन वटा पदमा मतदान गराइएको हो । गत शनिवार नै संघको नवौं अधिवेशन उद्घाटन गरिएको थियो ।
त्यसैगरी उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव अर्थ, सहसचिव महिला, सहसचिव अर्थ महिला सर्वसम्मतिले चयन भएका थिए । उपाध्यक्षमा मनोजराजा श्रीवास्तव, महिला उपाध्यक्षमा तारा थापा, सचिव अर्थमा पुस्करराज खड्का, सहसचिव महिलामा शोभा मल्ल र सहसचिव अर्थ महिलामा यशोदा शाह, सदस्यमा राजन कंडेल लगायतका सदस्यहरु, प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएका थिए ।

