नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान सहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको ज्ञानोदय विद्या निकेतन माध्यमिक विद्यालय नेपालगन्जमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु असार १५ को एक दिन अगाडि धान रोपाइँ गरेर असार १५ मनाएका छन् ।

विद्यालयका सहायक प्रिन्सिपल दिपेन्द्र शर्मा, इन्चार्ज अभि खनाल, शिक्षक चिन्तक कार्की, लेखा कर्मचारी वर्षा पोखरेल सहित ४६ जना विद्यार्थीहरुको टीम सैनिक नजिकै खेतमा गएर उक्त असार १५ अर्थात धान दिवस मनाएको प्रिन्सिपल मान बहादुर थापाले बताउनुभयो ।

हामीले विद्यार्थीहरुलाई केही न केही नयाँ कुराहरु सिकाउदै आइरहेको बताउदै उहाँले उनीहरुलाई धान रोपाइँ गर्न सिकाउनुका साथै धान दिवस पनि मनाइएको बताउनुभयो । सोही अवसरमा विद्यार्थीहरुलाई दही चिउरा खुवाएको सहायक प्रिन्सिपल दिपेन्द्र शर्माले बताउनुभयो ।
