नेपालगञ्ज – नेपाली कांग्रेस बाँकेको सचिवमा युवा नेता सुधांशु कोइरालाले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान जिल्ला कार्यसमितिमा सदस्य रहेका कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत् उम्मेदवारी घोषणा गरेका हुन् ।
बाँके जिल्लामा युवा नेताको रुपमा चिनाउन सफल कोइरालाले आफ्नी कान्छी छोरी अनन्या कोइरालाको पहिलो जन्मोत्सबको अवसर पारेर सचिव पदमा उम्मेदवारी घोषणा गरेको उल्लेख गरेका छन् ।

वर्तमान पार्टी सभापति किरण कोइराला र पूर्व पार्टी सभापति स्वर्गीय डा. अरुण कोइरालाका छोरा सुधांशु पार्टी सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेलको समूहबाट सचिवमा लड्ने यसअघि नै निश्चित जस्तै भएको उनका निकटका कार्यकर्ताको भनाइ रहेको छ । उनले औपचारिकरुपमै उम्मेदवारी घोषणा गरेका छन् ।
आफुलाई मतदान गर्न आग्रह गर्दै उनले मतदाताले दिने अमूल्य मतको सम्मान गर्दै पार्टी हित र संगठन निर्माणका लागि आफू सदैब लागिपर्ने बताएका छन् । सचिवमा उनी बाहेक अहिलेसम्म अरु कसैले उम्मेदवारी घोषणा गरेका छैनन् । कांग्रेस विधान अनुसार जिल्लामा दुई जना सचिव निर्वाचित हुन्छन् ।

