नेपालगन्ज – बागेश्वरी असल शासन क्लब बासको आयोजनामा भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपालगञ्जमा बृहत्त पैदल मार्च गरिएको छ । भ्रष्टाचार विरुद्धसंगै हिंडौ भन्ने मुख्य सन्देशका साथ आयोजना गरिएको सो पैदल मार्चमा सयौंको सहभागिता रहेको थियो । मार्चमा सहभागि सबैले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।
भ्रष्टाचार विरुद्ध लामो समयदेखि अभियान चलाउँदै आएको बागेश्वरी असल शासन क्लबको आयोजना र अन्तराल नेपालगञ्जको व्यवस्थापनमा विहिबार विहान सो पैदल मार्चको आयोजना गरेर सचेतना अभियान सञ्चालन गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताउनुभयो ।

विभिन्न प्लेकार्डहरु बोकेर स्थानीय विपी चोकबाट शुरु गरिएको उक्त पैदल मार्च धम्बोझी चोक हुँदै सेतु विक चोक पुगेर बौद्ध गुम्बा नजिक पुगेर समापन भएको थियो ।
पश्चिम नेपालमै पहिलो पटक यस्तो प्रकारको बृहत्त पैदल मार्चको आयोजना गर्नुको मूख्य उद्देश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने रहेको बागेश्वरी असल शासन क्लब नेपालका अध्यक्ष रमेश सिटौलाले बताउनुभयो ।
उहाँले भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगञ्जको पहिचानलाई व्यापकता दिने उद्देश्यका साथ सो पैदल मार्च सम्पन्न गरिएको जनाउनुभयो ।
उक्त पैदल यात्रामा विभिन्न सरकारी, गैर सरकारी निकायका प्रमुखहरु ल्गायत संघसंस्थाका प्रमुख, विद्यार्थि र सर्वसाधारणको सहभागिता रहेको थियो ।
सो पैदल यात्रामा साँस्कृतिक प्रस्तुती, झाँकी प्रदर्शन, सडक नाटक, पर्चा, पम्लपेट समेत बितरण गरिएको थियो ।
सो पैदल यात्रामा चर्चित गायक प्रकाश सपुतको पनि सहभागिता रहेको थियो । उहाँले समापनको अवसरमा आयोजित कार्यक्रममा भ्रष्टाचार विरुद्ध चेतना जगाउने विभिन्न गीतहरु गउनु भएको थियो ।

