आन्दोलनरत मेडिकल कलेजका कर्मचारीहरुले लगाए प्रशासनिक कक्षमा ताला

नेपालगंज बिशेष

नेपालगन्ज : विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीले आज प्रवन्ध सञ्चालक अफिस,  प्रशासनिक, लेखा, नर्सिङ प्रशासन,  कक्षमा तालाबन्दी गरेका छन् ।

तलव वृद्धि, लगायतका विभिन्न सात बुँदे माग राखेर उनीहरु हिंजोदेखि आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको संयुक्त आन्दोलनरत कर्मचारीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

तलवभत्ता वृद्धि हुनुपर्ने, दरवन्दी सिर्जना, पदपूर्ति र बढुवा हुनुपर्ने, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनु पर्नेलगायतका माग उनीहरुको छ ।

आन्दोलन परिचालन समितिका सहसंयोजक मुनिर खाँले पर्सिसम्म आफ्ना माग सम्वोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिनुभयो ।

जोखिम र फर्मालिन भत्तालाई दुई सयबाट वृद्धि गरी पाँच सय गरिनु पर्ने उहाँको माग छ । कोरोनाको महामारीमा आफ्नो ज्यानको बाजी राखेर स्वास्थ्यकर्मीहरु खटिए खानले बताउनुभयो  ।

कोरोना महामारीको समयमा कर्मचारीहरुले जोखिम मोलेर काम गरेपनि अहिलेसम्म  भत्ता पाएका छैनन् । सरकारले निर्धारण गरेको जोखिम भत्ता पाउनु पर्यो । रात्री कालिन समयमा नाइट ड्युटी गर्ने  कर्मचारीले खाजा नास्ता स्वरुप अहिले एक सय ५० रुपैयाँ पाउँदै आएका छन् उक्त रकम समयानुकूल वृद्धि हुनुपर्छ उहाँले भन्नुभयो ।

इन्चार्ज, लेखा र प्राविधिक भत्ता वृद्धि गरी दुई हजार बनाउनु पर्छ । आवास तथा यातायात सुविधा नपाएका कर्मचारीलाई प्रतिमहिना दुई हजारका दरले आवास तथा यातायात सुविधा दिनु पर्छ भन्ने माग छ उहाँले भन्नुभयो ।

विगत ५ वर्षदेखि तलव भत्ता वृद्धि नभएको बताउदै शिक्षण अस्पताल नेपालगन्जका आन्दोलन कमिटीका संयोजक मुस्लिम खानले कर्मचारीहरुका जायज मागहरु व्यवस्थापन पक्षले सम्बोधन गर्नुपर्ने उहाँको भनाइ रहेको छ । आज शिक्षण अस्पताल कोहलपुर, बेसिक साइन्स चिसापानी, शिक्षण अस्पताल नेपालगन्जमा एकैपटक प्रशासनिक, नर्सिङ प्रशासन लगायतको ठाउँहरुमा ताला लगाएको आन्दोलन कमिटीका केन्द्रीय मुल कमिटीका सह संयोजक मुनिर खानले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *