बालविवाह अन्त्यका लागि युनेस्को क्लबले नागरिक समाज संस्थाको क्षमता विकास गर्दैछ

लुम्बिनी प्रदेश बिशेष

बर्दियाको गुलरिया नगरपालिकामा बाँके युनेस्को क्लबले नागरिक समाज संस्था सञ्जालका लागि तीन दिने संस्थागत क्षमता तथा नेतृत्व विकास तालिम बुधवारबाट शुरु गरेको छ ।
क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत सो तालिम शुरु गरिएको हो ।
गुलरियास्थित दलित महिला सञ्जालको सस्ंथागत क्षमता विकास गर्नुका साथै सञ्जालमा आवद्धहरुको नेतृत्व विकास गरेर उनिहरुलाई बालविवाह अन्त्य गर्ने अभियानमा सक्रिय बनाउने उदेश्यले सो तालिमको आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले तालिम पश्चात दलित महिला सञ्जालले नगरपालिकाको गाउँ गाउँ र टोल टोलमा पुगेर बाल विवाह रोकथाम र बालअधिकारका लागि जनचेतना फैलाउनुका साथै अन्य कार्यहरु गर्ने बताउनुभयो ।
सो तालिम पश्चात तत्कालनै बाल अधिकार संरक्षण र बाल विवाह रोकथामका लागि आवश्यक सहयोग गर्न बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने योजना रहेको दलित महिला सञ्जालका अध्यक्ष रत्ना सुनारले बताउनुभयो ।
क्लबले गत वर्षदेखि गुलरिया नगरपालिकाका १२ वटै वडाका दलित महिलाहरुसंग साझेदारी गरेर काम गर्दै आएको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।
पालिकासंग मिलेर सञ्जालले गत वर्षनै वालविवाह अन्त्यका लागि संयुक्त अन्तरिम योजना बनाएको थियो । सोही अन्तरिम योजनामा टेकेर यो तालिमको अवधीमा बृहत्त कार्ययोजना बनाउने र बालविवाह रोकथामका लागि कार्यान्वयन गर्ने दलित महिला सञ्जालले जनाएको छ ।
तालिमको सहजीकरण बालअधिकारकर्मी मानविर विश्वकर्माले गर्नु भएको थियो भने बाँके युनेस्को क्लबका फिल्ड अधिकृत शितल विश्वकर्माले परियोजना र कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।
नागरिक समाज सञ्जाल संस्थाले क्लबलाई मासिक प्रतिवेदन बुझाउने, बालविवाह घट्नाको रिपोर्टिंग गर्ने, रोकथाम गर्ने तथा सहजीकरण गर्ने प्रतिवद्धता तालिममा व्यक्त गरेको क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *