मकवानपुर – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन योंग कम्युनिष्ट लिग (वाइसीएल) नेपाल मकवानपुरले श्रमदान अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ ।
स्थानीय पूर्वाधार विकास, सामाजिक सेवा र सामुदायिक सहकार्यलाई प्राथमिकता दिँदै वाइसीएलले विभिन्न स्थानमा सडक मर्मत, पर्खाल निर्माण र सरसफाइ जस्ता कार्यलाई निरन्तरता दिइरहेको वाइसीएल मकवानपुरले जनाएको छ ।

श्रमदान अभियानअन्तर्गत वाइसीएलका सदस्यहरू सामूहिक रुपमा खटिएर सडक विस्तार, जग निर्माण, ढुंगा बोक्ने लगायतका काममा सक्रिय देखिएका छन् । “समाजका आवश्यकतामा सधैं अगाडि रहने हाम्रो उद्देश्य हो,” वाइसीएलका एक सदस्यले बताए ।
स्थानीय बासिन्दाले वाइसीएलको यो पहललाई स्वागत गर्दै सामुदायिक विकासमा ठूलो सहयोग पुगेको बताएका छन् । “यस्तो श्रमदान अभियानले गाउँ–समुदायको विकासमा मात्र होइन, आपसी एकता र सहकार्यलाई पनि मजबुत बनाउँछ,” एक स्थानीयले प्रतिक्रिया दिए ।
वाइसीएल मकवानपुरले आगामी दिनमा अझ धेरै विकास निर्माणका काममा श्रमदानमार्फत सक्रिय भूमिका खेल्ने जनाएको छ ।

