मेरो काले छोरा !
एसईई मा ३.२४ जि पि ए लिएर उत्तीर्ण गरेकोमा तिमीलाई बधाई छ ।
भाइ पास भएकोमा हजुरलाई बधाई छ मामु भन्दै तिम्रो ठूलो दिज्जुले बधाईका सौगात चढाउदा म अत्यान्तै हर्षित भए ।
बाबु आफुले सोचे अनुसार ग्रेड नआउदा तिमीले दु:ख मानेका छौ रे भन्ने सुन्दा मलाई नमिठो लाग्यो । धेरै ग्रेड ल्याउने सोच राख्नु अत्यन्तै राम्रो हो तर गर्दा गर्दै पनि राम्रो ग्रेड नआएमा ग्रेड राम्रो आएन भनेर चिन्तित हुनु राम्रो होइन ।
यहि एसईई र एसईई को ग्रेड नै सबैथोक होईन छोरा , आगामी दिनको यात्रा अझ सहजकाताका साथ पार गर्दै जानुछ यो त पढाइको सुरुवात हो खास पढाईको ढोका त बल्ल खुल्यो ।अब बाटो तय गर्न नै बाँकी छ कुन बाटो कतातिर जाने भनेर बाटो पहिल्याउन चतुर हुनु पर्छ । आफ्नो वसमा नपरेको कुरालाई लिएर दु :खी बन्ने होईन । पढाईको टुङ्गो त्यति बेला हुन्छ जति बेला तिमीले आफ्नो प्रमाणपत्र र सर्टिपिकेट शैक्षिक बजारमा बिकाउन सक्षम हुने छौ त्यसैले यो नतिजामा दु:खी बन्नु पर्ने कुनै ठाउँ नै छैन ।
लक्ष्य राख्नु स्वभाविकै हो कहिले काहिँ लक्ष्यमा पुग्नु भन्दा पहिले बाटो अलमल हुन सक्छ अब बरु त्यो बाटोमा म कसरी र किन अलमलिए भन्ने कुरा बुद्धिमानी पुर्वक पहिल्याउन जरुर छ । धावन मार्गमा दौडने जति सबैले प्रथम स्थान हासिल गरेका हुँदैनन । समग्रमा त्यो खेलमा प्रवेश गरेर आफ्नो कौशल प्रदर्शन गर्न पाउनु नै अहोभाग्य हो ।
मलाई लाग्छ तिम्रो पढाइ रोवर्ट शैली नभएर स्वतन्त्र शैलिको थियो म चाहान्थे मेरो छोराको चौतर्फी विकास होस् । संन्तानले पढ्नु पर्छ भनेर पढ्ने वातावरण दिए तिमिले आफ्नो क्षमताले भेटे जति पढ्यौ । रोवर्ट शैलिमा दिएको निर्देशनको पढाईले कहाँ दक्ष बन्न सक्छ र मान्छे । उसमा चौतर्फी गुणको विकास आवस्यक पर्छ । मलाई तिमीले पढाईमा त्यति ध्यान नदिएको कुरा चै थाहा थियो तर जब तिम्रो आत्मामा संवेग आउने छ तब बल्ल तिम्रो पढाईले फड्को मार्छ नत्र भरेको खर्च र अर्हाएको बुद्धिको कुनै काम हुँदैन भन्ने बुझेर मैले तिमीलाई संस्कार तर्फ नै बढी जोड गरेकी थिए किन कि संस्कार बिनाको शिक्षाको कुनै औचित्य हुँदैन भन्ने लागेर ।
मेरो एउटा अनुभव तिमीलाई सुनाउछु है त ? म करिव २४ बर्षकि हुँदा शिक्षण पेशामा प्रवेश गरेकी हुँ त्यतिबेला मेरो मनस्थितिमा यहि एउटा मात्रै कुरा खेलिरहन्थ्यो । मैले पढाएका जति सबै बालबालिका उत्कृष्ट हुनुपर्छ र उत्कृष्ट हुनेको मात्रै जीवन छ अनि उनीहरुले मात्रै गरेर खान सक्छन् । पढ्न नसक्ने र राम्रो अङ्ग नल्याउने जतिले केही गर्न सक्दैनन् । जब म कक्षाकोठामा प्रवेश गरेर पढाउन सुरु गर्थे त्यो बेला तीन तहका विद्यार्थी भेटाउथे अग्र स्थान , मध्य स्थान र पश्च स्थान , अग्र स्थानका विद्यार्थी पढ्न मात्रै बिर्लेण्ट , मध्यम स्थानका विद्यार्थीको मध्यम स्तरको पढाई र पश्च स्थानमा पर्ने चै सबै कुरामा कमजोर तर कुरा गर्नमा माहिर भेटिन्थे । एक शिक्षकले कक्षाकोठामा घोटिएर पढाईरहदा बुझ्दै नबुझ्ने र पढाईप्रती अलमस्ती गर्नेको सङ्ख्या देख्दा पाठ्यपुस्तक नै फालेर यो शिक्षण पेशामा कहिल्यै हात नराखुँ जस्तो लाग्थ्यो ।
समय बित्दै जादा आजभोलि ती तिनै तहका विद्यार्थी आआफ्नो स्तर अनुसारका काम गरेर खाएको देख्छु ।खाली कोहिँ कतै कसैलाई देख्दैन सबैले ईलम गरेका छन् । स्तर र विभिन्न तह अनुसारका दक्ष जनशक्ति देशलाई आवश्यक पर्छ र सोही अनुसार मानव शक्ति चाहिन्छ नै सबै डाक्टरै डाक्टर हुने हो भने बिरामी हुने को ? सबै ईन्जिनियरै ईन्जिनियर हुने हो भने ठेकेदार हुने को ? सबै व्यापारी मात्रै हुने हो भने ग्राहक हुने को ? सबैले जागिरे मात्रै हुने हो भने अन्न उत्पादन गरिदिने कस्ले ? सबै होटलका मालिक बन्ने हो भने कुक बन्दिने को ? लजमा गेष्ट बन्दिने को ? सबै हाकिम बन्ने हो भने गाडी चालक बनिदिने को ? यसरी हेर्दा देशलाई सबै प्रकारका जनशक्तिको आवश्यकता पर्छ त्यसैले सबैले आफ्नो आफ्नो क्षमताले भ्याएको गरेकै छन् र जीवन चलाए कै छन् ।
मेरो शिक्षण पेशाको अनुभवले मलाई धेरै कुरा सिकाएको थियो त्यसैले तिम्रो स्कुल जादा तिम्रा गुरुहरुले तिम्रो बारेमा असन्तुष्ट ब्याक्त गर्दा उहाँहरुसङँ मैले कहिल्यै पनि मेरो छोरा कमजोर छ भनेर चिन्ता व्याक्त गरिन । हो तिम्रा दिज्जुहरुको तुलनामा तिम्रो पढाइ केही कम थियो उनिहरुको तुलनामा कम भए पनि समग्रमा तिम्रो पढाई राम्रो छ । म तिम्रो भविष्यप्रती चिन्तनशील चै हरबखत थिए नै तर यो कुरामा ढुक्क थिए कि मेरो छोरा मध्यम स्तरको विद्यार्थी हो त्यसैले केही न केही गरेर खान्छ नै । म केवल एउटा कुरामा मात्र चिन्तित थिए कतै मेरो छोरा संस्कारी नहुने पो हो कि कुलतमा लाग्ने पो हो कि मानविय संंवेग नआउने पो हो कि ?
आजको एसईई रिजल्ट आउनै लाग्दा दुई हप्ता देखि मैले तिमीले पिर गर्न सक्छौ तिमीले सोचेजस्तो रिजल्ट नआउन सक्छ भनेर तिमी लाई सम्झाई रहेकि थिए किन कि तिमीमा त्यो विषाद संवेग आउने छ अनि तिमी दु :खी बनेको तिम्री मामुले हेर्न देख्न सक्दैनिन् भनेर !
आज म धेरै खुसी छु तिमीले एसईई उत्तीर्ण गरेकोमा र तिम्रो हर्ष खुसीलाई सामान्यी करण गर्न पाएकोमा । ” एक आमाले छोराछोरीले जहिल्यै शुसेल्दै हिडेको देख्न चाहान्छिन् सन्तानको सुस्केरा होईन ” त्यसैले मेरो छोराले सदैव शुसेल्दै हिडोस् , जस्तो परिस्थितिलाई पनि सामान्य झै सम्झेर सामना गर्न सिकोस यहि मेरो कामना ।
बाबु काले पत्र निकै लामो भयो फेरि अर्को पत्रमा बाँकी गन्थन लेखुला पुन तिमीलाई बधाईको साथै आगामी शैक्षिक यात्रा सफल रहोस भन्दै अहिलेलाई बिदा उहीँ तिम्री मामु सानु गुल्मेली
२०८१/३/१३
प्युठान